Thursday, 29 October 2015

देशले पहिलो महिला राष्ट्रपति पाएपछि महिला कलाकारको भनाइ यस्तो छ .................



विद्या देवी भण्डारी देशको सबैभन्दा सर्वोच्व पदमा महिला प्रतिनिधि निर्वाचित भएपछि नेपालमा एउटा नौलो इतिहास रचिएको छ । लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा नेकपा एमालेको तर्फबाट विद्या निर्वाचित भएसँगै नेपाली महिलाहरुमा खुशीको नयाँ तरंग आएको छ। राज्य सञ्चालन गर्ने प्रमुख अंगमा महिला हुनुपर्छ भन्ने महिला अधिकारकर्मीहरुको लामो समयदेखिको आवाजले सार्थकता पाएको छ । यसै सन्दर्भमा सेतोपाटीले केही महिला कलाकारसँग कुरा गरेको छ । उनीहरुले सेतोपाटीसँग बधाई र खुशी यसरी साटे–
रेखा थापा, अभिनेत्री
देशको उच्च निकायमा महिला हुनुपर्छ भन्ने मेरो वर्षौंदेखिको सपना पुरा भएको छ । यो मेरो लागि ऐतिहासिक क्षण हो । चाडै प्रधानमन्त्रीको कुर्सीमा पनि महिला भएको देख्न पाइयोस् । विद्या भण्डारी राष्ट्रपति भएपछि हरेक महिलाले सशक्त बन्ने कसरत गर्नेछन् । मदन भण्डारीको अधुरो सपना पुरा भएको छ । निरन्तर रुपमा देशका बारेमा सोचे र सकारात्मक संघर्ष गरे नपाउने केही छैन भन्ने उदाहरण उहाँले दिनुभएको छ । हरेक नारीमा ‘पुरुषत्व’ हुन्छ, विद्या भण्डारी राष्ट्रपति भएसँगै हरेक महिलाको पुरुषत्व जागृत भएको छ । महिलाको हातमा डाडुपन्यु आएको छ ।े परिवार सबल हुन महिलाको अपरिहार्य भएजस्तै समाज हुँदै राष्ट्र सबल हुन महिलाको हात हुन्छ । उहाँलाई सेरेमोनियल मात्र राख्नुहुन्न । उहाँको भिजन पनि उपयोग गर्नुपर्छ ।
प्रियंका कार्की, अभिनेत्री
मलाई त बोल्ने इच्छा नै मरिसक्यो । कहिले यो आयो बधाई भन्यो, कहिले ऊ आयो बधाई भन्यो । दशैंपछि समस्या समाधान होला भनेको तिहार आइसक्यो, समस्या झन् चर्केको छ । सत्तामा मानिसहरु परिवर्तन भएका भयै छन् । यति धेरै त कहीँ हुँदैन होला । तर, म आफू महिला भएकाले महिला राष्ट्रपति हुनुभएकोमा खुशी नहुने कुरा त भएन । महिलाका लागि यो एउटा ‘बिग स्टेप’ हो, उहाँलाई बधाई छ ।  अब महिला या पुरुषको कुरामा मात्र अल्झिने बेला होइन । विकास हाम्रो आँखाले देख्दा र कानले सुन्दा मात्र परिवर्तन भएको विश्वास गर्नेछौं । आशामा मात्र टिक्ने बेला छैन अब । हाम्रो आशा अब नमरोस् ।
कोमल वली, गायिका
यो सम्पुर्ण महिलाको लागि गर्वको कुरा हो । एउटा इतिहास रचिँदा म पनि खुशी नहुने कुरै भएन । अहिले एमालेको तर्फबाट भएपनि सम्पुर्ण पार्टी र जनतालाई एउटै मालामा उन्न उहाँ सक्षम हुनुहुन्छ जस्तो लाग्छ । पहिले मन्त्री हुँदा पनि उहाँको तर्कहरु निष्पक्ष थिए । त्यसैले राष्ट्राध्यक्ष हुँदा पनि उहाँले राष्ट्रप्रतिको दायित्व तटस्थ भएर बहन गर्नुहुन्छ होला । बधाई ।
 ऋचा शर्मा, अभिनेत्री
महिला राष्ट्रपति हुँदा भित्रैदेखि खुशी र गर्व लाग्दो रहेछ । कतिले मदन भण्डारीको श्रीमती भएर यो ठाउँसम्म आइपुगेको हो भने । कसैको श्रीमती या आमा भएर उहाँ राष्ट्रपति हुनुभएको होइन । उहाँ ‘स्ट्रङ’ हुनुहुन्छ । उहाँले जुन नाम बनाउनु भएको छ, त्यो उहाँले २२ वर्ष लगाएर बनाउनु भएको हो । अब महिलाको समस्या केही कम हुन्छ होला । तर, अब हामीले आशा मात्र लिएर बस्नुहुन्न होला ।
 रेखा शाह, गायिका
सपना मल्ल प्रधानले भन्नु भएको सम्झन्छु, उहाँले यसपालिको संविधानलाई महिलामैत्री बनाउने चान्स गुमायौं भन्नु भएको थियो तर, सभामुखदेखि राष्ट्रपतिसम्म महिला हुनुभएको छ । जुन देशमा लैंगिक विभेद हुँदैन ती देशमा समेत उच्च पदमा महिला पुग्न सकेका छैनन्, हाम्रो देशमा यस्तो हुँदा गर्व लागेको छ । हरेक मान्छे सफल हुनुको पछाडी उसको पारिवारिक पृष्ठभूमि राम्रो भएको हुन्छ । त्यो विद्या भण्डारीकोमा थियो । त्यसैले उहाँ राष्ट्रपति हुनुभयो । यहाँसम्म आउनमा उहाँको श्रीमान् कारण होस् या अरु कोही होस् के भयो र ? संघर्ष उहाँकै हो ।  अब महिलाको आवाज उहाँले उठाउनुहोला ।
कुञ्जना घिमिरे, हाँस्य अभिनेत्री
पुरुषभन्दा बढी महिला भएको देशमा महिला राष्ट्रपति हुँदा गर्व लागेको छ । विद्या भण्डारी महिला सक्षमता र निरन्तर काम गरिरहे महिलाले पनि स्थान पाउँछन् है भन्ने उदाहरण बन्नु भएको छ । घरबाटै हेर्दा महिलाको एउटा ‘ग्राण्ड रोल’ हुन्छ । हाम्रो समाज छोरी जन्मेला भनेर डराउँछ तर, पछि बाबुआमाले छोरीको कुरा नै सत्य ठान्छन् । एउटा बाले आफ्नो सन्तानलाई कति कमाइस् भनेर सोध्छन् भने आमाले तैंले खाइस् भनेर सोध्छिन् । आमाले अरुलाई नमारी खाएस् भनेर सन्तानलाई आशिष दिन्छिन् । एउटी महिलाले श्रीमान् लाई गलत बाटोमा लाग्नबाट रोक्न सक्छिन् । त्यसैले महिला आफैंमा ‘रोल मोडल’ हो । उहाँले अब एकल, पिछडिएका र दबिएका महिलाको भूमिका निभाउनु हुनेछ । 

0 comments:

Post a Comment