काठमाडौं, कार्तिक १३ । उपराष्ट्रपति चयनका लागि शनिबार संसद्मा हुने निर्वाचनमा चार जनाको उम्मेदवारी परेको छ । सत्तारुढ गठबन्धनले एकीकृत नेकपा माओवादीका पूर्व लडाकु कमान्डर नन्दकिशोर पुनको उम्मेदवारी दर्ता गराएका छन् ।
गठबन्धनका नेताहरुले संसद् भवन बानेश्वर पुगेर पुनको उम्मेदवारी दर्ता गराएका हुन् । पुनको प्रस्तावकमानेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल रहेका छन भने समर्थकमा राप्रपा नेपालका दिलनाथ गिरी, फोरम लोकतान्त्रिकका योगेन्द्र चौधरीलगायत छन् ।
त्यसैगरी प्रमुख विपक्षी दल नेपाली कांग्रेसले अमियकुमार यादवको उम्मेदवारी दर्ता गराएको छ । उनको प्रस्तावकमा नेपाली कांग्रेसका मुख्य सचेतक चीनकाजी श्रेष्ठ र समर्थकमा सचेतक ईश्वरी न्यौपाने रहेका छन् ।
यसैगरी स्वतन्त्र सांसद अतहर कमाल मुसलमानले पनि उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा अखण्ड नेपाल पार्टीका सांसद् कुमार खड्का र समर्थकमा जनजागरण नेपाल पार्टीका सांसद् लोकमणि ढकाल रहेका छन ।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद मुसलमानले आफ्नो प्रस्तावक हिन्दू र समर्थक क्रिस्चियन धर्मावलम्बी भएकाले आफू साझा उम्मेदवार भएको बताए । यसैगरी परिवार दलका दयाराम कंडेलले पनि उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा एकनाथ ढकाल र समर्थकमा मिलनकुमारी राजवंशी रहेका छन् । संसद् सचिवालयले उम्मेदवारी दर्ताका लागि शुक्रबार १० बजेदेखि १ बजेसम्मको समय तोकेको थियो । संसद् सचिवालयले साढे १ बजे उम्मेदवारको नामावली प्रकाशित गर्ने, २ बजे उम्मेदवारको नामावलीउपर दाबी विरोध गर्ने र साढे २ बजेसम्म उम्मेदवारी फिर्ता लिनका लागि समय निर्धारण गरेको छ ।
त्यसैगरी ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र शनिबार ११ बजेदेखि २ बजेसम्म संसद्मा गोप्य मतदान हुने, साढे २ बजे मतगणना र अपराह्न ५ बजे निर्वाचन परिणाम व्यवस्थापिका संसद्मा घोषणा गर्ने निर्वाचन तालिकामा उल्लेख छ ।









0 comments:
Post a Comment