Thursday, 8 October 2015

एमाले सभासद् भन्छन् : ओली नेतृत्व सरकार, कांग्रेस सभासद् भन्छन् : हुन्न–हुन्न

OIi-sushil-pm
काठमाडौं– दोस्रो संविधानसभाको निर्वाचनसँगै ठूलो पार्टी बनेको नेपाली कांग्रेसले पहिलो सरकारको दाबी गर्नु स्वाभाविक थियो । त्यतिबेला नेकपा एमालेले कुनै व्यवधान खडा गरेन, परिणामस्वरूप सुशील कोइराला प्रधानमन्त्री बने । तर, कोइरालालाई सत्ताको भर्याङ चढाउनुअघि एमालेले कांग्रेसलार्ई एउटा वाचा गराएको थियो । त्यो के भने ‘संविधान जारी भएपछि एमालेले सरकारको नेतृत्व गर्न पाउनुपर्ने ।’ त्यो सहमति लिखित रुपमा गरिएन । कांग्रेस र एमालेको उच्च नेतृत्वबीच भएको त्यो भद्र सहमति अहिले नेपाली कांग्रेसले भुल्न खोजेको एमालेका नेताले बताएका छन् ।
त्यसपछि सोह्रबुँदे सहमति गर्दा एमाओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलार्ई साक्षी राखेर संविधानपछि बन्ने सरकारको नेतृत्व फिक्स गरेको एमाले यत्तिबेला झस्केको छ । किनकि नेपाली कांग्रेसभित्र तीन नेता पुनः सरकारको नेतृत्व गर्ने रेसमा सामेल हुन खोज्दै छन् । कोइरालाले आफ्नो निरन्तरता खोज्न थालेका छन् भने रामचन्द्र पौडेल र शेरबहादुर देउवाले पनि चासो देखाएसँगै संविधानअनुसारकै तिथिमा मुलुकले नयाँ प्रधानमन्त्री पाउनेमा आशंका चुलिएको छ । एमालेले प्रधानमन्त्रीको दाबी गर्नुको कारण र कांग्रेसले अवरोध गर्नुका कारणबारे दुई पार्टीका संसद के भन्छन् ?
केपी ओली सक्षम नेता : पशुपति चौलागाईं, नेकपा एमाले
हामीले सुशील कोइराला प्रधानमन्त्री हुनुअघि नै कांग्रेससँग एउटा सहमति गरेका थियौं । त्यो सहमति के थियो भने, संविधान जारी गरेर देश विकासमा अगाडि बढ्ने । त्यसका लागि संविधानपछिको नेतृत्व एमालेले गर्ने भद्र सहमति भएको थियो ।
पछि सोह्रबुँदे सहमति गर्दा संविधान निर्माणपछि कांग्रेसले राष्ट्रपति लिने, एमालेले सरकारको नेतृत्व गर्ने र एमाओवादीले अरू पद लिनेगरी सत्ता सेयरिङ गर्ने सहमति भएको कुरा भुल्न हुँदैन ।
सहमतिअनुसार कांग्रेसले आफ्नो समय पूरा गरिसकेको हुनाले अहिले हामीले सरकारको नेतृत्व दाबी गरेका हौँ । यसअघि संविधान निर्माण लगायतका काममा हामीले खेलेको भूमिकाले पनि प्रधानमन्त्री दाबी गर्दा अन्यथा नहोला । नेकपा एमालेका अध्यक्ष केपी ओली सक्षम नेता पनि भएकाले नयाँ बन्ने सरकारमा हाम्रो दाबी स्वाभाविक छ ।
अब कांग्रेस बाधक बन्नु हुँदैन : रामहरि खतिवडा, नेपाली कांग्रेस
हामीले दोस्रो संविधानसभाको जनादेशअनुसार संविधान जारी गर्यौं । एउटा ऐतिहासिक दायित्व पूरा गरेको हुनाले कांग्रेसले नयाँ सरकारको नेतृत्व दाबी गर्नु स्वाभाविक हो । तर संविधानको कार्यान्वयनका लागि हामी सबै मिलेर जानुपर्छ ।
जनताको लामो प्रतीक्षापछि बनेको संविधान कार्यान्वयनमा भोलि समस्या सिर्जना भयो भने त्यसले राम्रो म्योसेज दिँदैन, त्यसकारण सुशील कोइरालाले तुरन्त राजीनामा गरेर सहमतिको सरकार गठनको पहल गर्नुपर्छ । राष्ट्रिय सहमतिका लागि कांग्रेस अवरोधक बन्नु हुँदैन ।
जहाँसम्म उपसभापति रामचन्द्र पौडेल र शेरबहादुर देउवाले पनि प्रधानमन्त्रीमा इच्छा देखाएको कुरा छ, संसदीय दलको नेता नभईकन प्रधानमन्त्री दाबी गर्न मिल्दैन ।
कांग्रेसले अनुकूलतामा सहमति तोड्न मिल्दैन: प्रकाश ज्वाला, नेकपा एमाले
हामीले मिलेर संविधान बनायौं, अबका दिनमा पनि प्रमुख दलहरू मिलेर अरुलार्ई पनि समेट्दै अगाडि बढेमा संविधान कार्यान्वयन सहज हुन्छ । नाकाबन्दी लगायतका समस्या समाधान गर्न र देशलार्ई उन्नतिमा लैजान राष्ट्रिय एकताकै खाँचो छ । एकता विश्वासमा आधारित हुने हुनाले आफ्नो अनुकूलतामा कसैले पनि सहमति तोड्नु हुँदैन ।
एमालेलार्ई सरकारको नेतृत्व दिने सवालमा हिजोको सहमतिलार्ई तोडेर कांग्रेसले अवरोध पुर्याउनु हुँदैन ।
अबका दिनमा मुख्य दल मिलेर संविधान कार्यान्वयन चुनौती सामना गरौँ भनेर एमालेले सरकार दाबी गर्नु नाजायज कुरा होइन । सुशील कोइराला प्रधानमन्त्री बन्नुअघि नै अर्कोपटक एमालेलार्ई नेतृत्व दिने भनेपछि कांग्रेसले अहिले टोन बदल्न मिल्दैन । यतिबेला सहमति नै भएको छैन भन्दै सरकार छाड्न आनकानी गर्नु कुनै हिसाबले पनि उपयुक्त होइन ।
कसले गरेको छ प्रक्रियाको कुरा ? : चिनकाजी श्रेष्ठ, नेपाली कांग्रेस
तीन दलको बैठकमा कांग्रेसका सभापतिले प्रक्रियाबाट प्रधानमन्त्री छान्नुपर्छ भनेको कुरा हल्ला मात्र हो । उँहाले त्यसो भन्नुभएको छैन । कसले गरेको छ प्रक्रियाको कुरा ? सरकार गठनको सवालमा हामी भद्र सहमतिकै पक्षमा छौं ।
कांग्रेसले एकपटक चलायो, अब हाम्रो पालो: डा. वंशिधर मिश्र, नेकपा एमाले
पूर्वसमझदारी एमालेले सकारको नेतृत्व दाबी गर्नु स्वाभाविक हो । निर्वाचनपछिको पहिलो सरकार बनाउन हामीले कांग्रेसलार्ई समर्थन गर्न कुनै कञ्जुस्याइँ गरेनौँ । त्यतिबेला पनि एमालेले नेतृत्व दाबी गर्न सक्थ्यो, तर हामीले त्यसो गरेनौं । पछि सोह्रबुँदेमा पनि एमालेलार्ई सरकारको नेतृत्व दिने भद्र सहमति भएको कुरा कहीँकतै छिपेको छैन ।
कांग्रेसले एकपटक सरकार चलाएपछि दोस्रो ठूलो दल एमालेले सबैलार्ई मिलाएर सहमतिको सरकार चलाउने चाहना राख्दा त्यसमा कसैले अन्यथा लिनु हुँदैन । आजभोलि कांग्रेसभित्र अनेक खालका विचार आउने र कम्युनिकेसनको समस्या भएकाले पनि प्रक्रियाको कुरा आएको हो । फेरि गाउँ–गाउँमा हामी दुई पार्टीको तीव्र प्रतिस्पर्धा भएकाले पनि एमालेलार्ई नेतृत्व दिन कांग्रेस डराएकोजस्तो देखिन्छ ।
सहमति भएको थाहा छैन : उदय शमशेर राणा, नेपाली कांग्रेस
पहिले दुई पार्टी र पछि एमाओवादीसहित एमालेलार्ई सरकारको नेतृत्व दिने भन्ने भद्र सहमति भएको भनिएको छ । नेताहरूबीच सहमति भयो होला, त्यो आफ्नो ठाउँमा छ, तर हाम्रो केन्द्रीय समिति र संसदीय दलको बैठकमा कुरै उठेको छैन ।
जो प्रधानमन्त्री भए पनि मलार्ई आपत्ति छैन । अहिले प्रधानमन्त्री को बन्ने र बनाउने भन्दा पनि असन्तुष्ट स्वरलार्ई मिलाउनेतिर हामी सबैको ध्यान जान जरुरी छ, त्यसका लागि शीर्ष नेतृत्वले पहल लिनुपर्छ ।

0 comments:

Post a Comment