कार्तिक ११, २०७२- कतारले सुधार गरेर स्पोन्सरसीप (कफला)सम्बन्धी कानुनलाई मंगलबार परिमार्जन गरेको छ । पारिमार्जित नियम अनुसार अब कतारमा काम गर्न आउने कामदारको स्पोन्सरसीप करारपत्र अनुसार हुनेछ । हालको नियममा करारपत्र सकिएपछि कम्पनी/व्यक्तिले अनुमति नदिएसम्म आफ्नो घर फिर्न नपाउने नियम थियो । अबको नयाँ कानुनले स्पोन्सरलाई कामदार बाहिर जानलाई रोक्ने अधिकार दिएको छैन् । ‘यदि गैरकानुनी काममा संलग्न भएको छ भने अदालत र कानुनी निकायले मात्रै रोक्न सक्छ’, कतारका बरिष्ठ वकिल युसुफ अल जामानले बताए । यो सरकारी राजपत्रमा जारी भएको मितिले एक बर्षपछि मात्रै कार्यान्वयन हुने जनाएको छ । श्रम मन्त्रालयलका अधिकारीका भनाईमा अब करारपत्र दुई थरीको हुनेछ । एउटामा दुई वर्षको समयसीमा तोकिए हुनेछ भने अर्कोमा समय तोकिएको हुँदैन । समय तोकिएको भए करारपत्रको अवधी सकिए लगत्तै कामदार आफ्नो मुलुक फिर्न पाउने छन् साथै अर्को कम्पनीमा काम जाने भए पनि बाटो खुल्नेछ । एउटै कम्पनीमा अनिश्चित करारपत्र सम्झौता गरी काम गरेमा उसले पाँच वर्षपछि मात्रै ‘नो अब्जेक्सन लेटर’ पाउनेछ । ‘करारपत्र सकिएको ७२ घण्टापछि भने स्वत: एक्जिट पत्र खुल्ने व्यवस्था हुनेछ,’ अधिकारीले भने । नेपाली सहित आप्रवासी कामदारले कतारमा आउने, रोजगार गर्न पाउने र फर्कन पाउने सम्बन्धी कानुन व्यवस्थालाई लचिलो गर्दै कतारले कफला प्रणालीलाई सुधार गरेको हो ।
कतारका आमिर शेख तमिम बिन हमाद अल—थानीले नयाँ स्पोन्सरसीप कानुनलाई मंगलबार प्रमाणीकरण गरेको हो । ‘आमिर शेख तमिम बिन हमाद अल—थानीद्वारा बुधबार आप्रवासीको प्रवेश र फिर्ता तथा उनीहरुको आवासिय नियमन गर्ने कानुन नम्बर २१, २०१५ जारी गरिएको छ,’ कतार समाचार समिति (क्युएनए)द्वारा जारी बुलेटिनमा भनिएको छ, ‘सम्बन्धित सबै निकायले उनीहरु क्षमता अनुसार सरकारी राजपत्र जारी भएको मितिको एक वर्षपछि मात्रै कार्यान्वयनमा आउनेछ ।’ झन्डै डेढ वर्षदेखि विभिन्न तहमा चरणवद्ध छलफल र बहस गरेर कतार सरकारले नयाँ स्पोन्सरसीप कानुन ल्याएको हो । गत सेप्टेम्बर ८ मा कतारका प्रधानमन्त्री शेख अब्दुल्लाह बिन नासिर बिन खुलाफी अलथानीको अध्यक्षतमा बसेको मन्त्रीपरिषदले निर्णय गरेर कानुन आमिरसमक्ष पेश गरिएको थियो ।
कतारले ५० वर्षदेखि विदेशी कामदारको हकमा तय गरेको स्पोन्सरसीप कानुनलाई परिमार्जन गरेको हो । हालको स्पोन्सरसीप कानुन सन् १९६३ बाट लागु गरेको थियो । परिमार्जित कानुनलाई कार्यान्वयन गर्न आर्थिक, सामाजीक र प्रशासीनक रुपमा तयार गर्नुपर्ने भएकोले एक वर्षको समय लाग्ने बताइएको छ । सरकारी अधिकारीहरुले एक वर्षको अवधीमा नीजि क्षेत्रका कम्पनीले श्रम कानुन अनुसार आफ्नो अवस्थालाई सुधार गर्नको प्रर्याप्त समय भएको जनाएको छ । करारपत्रमा केन्द्रीत स्पोन्सरसीप पारिमार्जन गरेको नियम अनुसार अब रोजगारदाता र कामदारबीच भएको सम्झौता पत्र (करार) अनुसार स्पोन्सरसीप व्यवस्था लागु हुनेछ । कतारमा गर्ने काम, बस्ने अवधी र घर फिर्न पाउने अवधी करारपत्रमै उल्लेख हुन्छ । यसअघि सबै अधिकार कम्पनीले चाहे अनुसार हुन्थ्यो । करारपत्र दुई थरीको हुनेछ । एउटा दुई वर्षको तोकिएको र अर्को समय नतोकिएको । नतोकिएको करार पत्रमा काम गर्नेले पाँच बर्ष काम गरिसकेपछि कम्पनीले अर्को कम्पनीमा जानका लागि ‘नो अब्जेक्सन सिटिफिकेट’ (एनओसी) स्वत दिनुपर्नेछ । नियम २० अनुसार रोजगारदाता परिवर्तन गर्नुपरेमा आप्रवासी कामदारले रोजगारदाता, आन्तरीक र श्रम तथा सामाजीक मन्त्रालयको तोकिएको विभागबाट अनुमति लिनुपर्नेछ । करार पत्र सकिएपछि नयाँ रोजगारदाताले पनि तोकिएको विभागबाट अनुमति लिएपछि उसलाई काम दिन पाउनेछ । कतारमा जाने कामदारसँग सक्कली करारपत्र भएपछि मात्र कतारमा प्रवेश गर्न दिइनेछ । कामदारको राहदानी समेत कम्पनीले आफुखुसी राख्न निषेध गरेको छ । कामदार र रोजगारदाताबीच श्रम विवाद परेमा आन्तरीक मन्त्रालयले काम गर्नको लागि अस्थायी रुपमा स्पोन्सर परिवर्तन गरिदिने नियम नम्बर २२ मा उल्लेख छ । मन्त्रालयले कामदारलाई रोजगारदाताबाट दव्यवहार भएमा अर्को कम्पनीमा सारिदिने अधिकार पाएको छ । दफा ७ अनुसार करारपत्र सकिने तीन दिनअघि नै स्वदेश पठाउन/फर्किन रोजगारदाता वा कामदार आफैले आन्तरीक मन्त्रालयलाई सूचना दिनुपर्नेछ । त्यसपछि कामदार करारपत्र सकिनासाथ आफ्नो देश फर्कन पाउने बाटो खुल्ला हुनेछ । ‘यदि कामदार पठाउन रोजगारदाताबाट अवरोध खडा गरेमा सिधै मन्त्रालयको एक्जिट समितिमा उजुरी हाल्न सकिन्छ,’ नियममा उल्लेख छ, ‘यसमा मन्त्रालय आफैंले उचित छानबिन गरी न्याय सम्पादन गर्न सक्नेछ ।’ कामदारलाई आपतकालिन अवस्थामा स्वदेश फिर्नु परेको खण्डमा पनि ‘एक्जिट समिति’ले तीनदिन पत्रमा निर्णय लिन सक्नेछ । यसअघि कम्पनीले चाहेको खण्डमा मात्रै स्वदेश फिर्न दिइन्थ्यो ।
दफा १४ का अनुसार कामदार ६ महिनाभन्दा बढी निरन्तर देशबाहिर बस्न पाउने छैन् । कामदारको आफ्नो आवासीय अनुमति सकिएको ६० दिनभित्र भने पुन आउनुपर्ने नियम छ । दफा १९ अनुसार कामदारको आवासीय अनुमति पत्र रद्द गरेपनि फर्कन इन्कार गरेको वा कम्पनी छोडेर हिँडेको खण्डमा १४ दिनभित्र मन्त्रालयलाई जानकारी दिनुपर्ने नियम छ । दफा १२ अनुसार आफ्ना २५ वर्षभन्दा मुनिका विद्यार्थी छोरा र अविवाहित छोरीलाई स्पोन्सरसीप गर्न पाउने छ । उसले आफ्ना अभिभावकलाई पनि स्पोन्सरसीप गर्न पाउने छ यदि कामदारलाई ठीक ढंगले कम्पनीले हटाएमा र उसको अपिल अदालतले रद्द गरिदिएमा चार वर्षसम्म पुन कतार आउन पाउने छैन् । अदालतमा मुद्दा चलिरहेको अवस्थामा भने घर फिर्नु परेमा आन्तरीक मन्त्रालयबाट अनुमति लिनुपर्नेछ । नयाँ कानुन कम्पनीबाट रद्द भएर गएको दुई वर्षसम्म लगाएको प्रतिबन्ध माथि मौन छ ।
नेपाली कामदार खुसी
मंगलबार कानुनी परिवर्तन भएको थाहा पाएपछि धेरै नेपाली कामदार खुसी देखिएका छन् । ‘हामीजस्ता दक्ष कामदारले अब पाउने अवसरबाट वञ्चित हुनु नपर्ने अवस्था बल्ल आयो,’ झन्डै एक दशकदेखि कार्यरत पोखराका बिमल सुबेदीले भने, ‘यसले हामीलाई उत्साहित बनाएको छ ।’ कतारमा झन्डै साढे चार लाख नेपाली कार्यरत छन् । ती मध्ये मुख्य निर्माणधीन कम्पनीमा ठुलो हिस्सा कार्यरत छन् । त्यसबाहेक मार्केटिङ, व्यवस्थापकीय, सुरक्षा गार्ड लगायत क्षेत्रमा कार्यरत छन् । ‘यहाँ काम गर्दा यहाँको बजार राम्रोसँग अध्ययन गरी बसेकाहरुलाई आफैले कम्पनी चलाउनको लागि बाटो खुलेको छ,’ उनले भने, ‘अब क्षमता र पूँजी अनुसार काम गर्न पाउने स्थिति देखा परेको छ ।’ ‘स्पोन्सरसीप व्यवस्था परिवर्तन भएपछि आफुले चाहेको, मन परेको काम, कम्पनी र तलब सेवासुविदा छनोट गर्न पाइन्छ,’ राजु शाक्यले भने, ‘बजार झन प्रतिस्पर्धी पनि हुनेछ ।’ धेरै जसो तल्लो तहमा कार्यरत कामदारलाई उनीहरु आफुले चाहेको घर जान पाउने स्थिति बनेको प्रतिक्रिया दिएका छन् । ‘घर जान पाउने/नपाउने स्पोन्सरको हातमा पथ्र्यो । दूतावास र कतार सरकारले चाहेर पनि केही गर्न सक्दैन्थ्यो,’ उमेश यादवले भने, ‘करार पत्र सकेपछि तुरुन्तै घर फिर्न सकिनेछ ।’










0 comments:
Post a Comment