Tuesday, 8 September 2015

यो वर्षको गाईजात्रामा राजनीतिक व्यङ्ग्य थोरै : सन्देश धेरै


September 8, 2015 मा प्रकाशित |

यो वर्षको गाईजात्रामा राजनीतिक व्यङ्ग्य थोरै : सन्देश धेरै
काठमाडौँ, २२ भदौ / नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा जारी ‘तिते जिरे मेरी बास्सै’ गाईजात्रामा दर्शक हास्य व्यङ्ग्यमा रमाइरहेका थिए । एक्कासि उद्घोषक राजा राजेन्द्र पोखरेलले भने, “आदरणीय दर्शकवृन्द, हाम्रो कार्यक्रमका प्रमुख अतिथि सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको आगमन भएको छ, लोकप्रिय मन्त्रीलाई स्वागत गरौँ ।”
पछिल्लो समय डिभी, पिआरधारी कर्मचारीलाई कारबाहीको दायरामा ल्याएर जनस्तरमा लोकप्रियता हासिल गरेका मन्त्रीको स्वागत गर्न दर्शक ज¥याकजुरुक उठे । पृष्ठभूमिमा ‘म भक्त हुँ यो देशको …’ भन्ने राष्ट्रिय गीत गुञ्जिन सुरु भयो । नभन्दै मन्त्री केही व्यक्तिलाई साथमा लिएर राष्ट्रिय झन्डा हल्लाउँदै साइकलमा सरर्र आए । तर उनी प्रमुख अतिथिलाई छुट्याएको सोफामा नबसीकन सिधै मञ्चमा गए र आफ्ना कुरा राख्न थाले ।
दर्शक झुक्किए, तर त्यहाँ कुनै मन्त्रीको आगमन भएको थिएन । थिए त त्यहाँ मन्त्री पण्डितको भेषमा आएका कलाकार मनोज गजुरेल । सबैको ‘क्यारिकेचर’ गर्न माहिर गजुरेलले यो वर्ष मन्त्री पण्डितको अनुहारदेखि बोल्ने शैली र शब्दलाई हुबहु उतारेका छन् भने प्रहसनमा डिभी पिआरधारी कर्मचारीको असन्तुष्टि र कारबाही गर्ने मन्त्रीको दृढतालाई देखाइएको छ । “अमेरिकाको डिभी (डाइभर्सिटी भिसा) भन्दा नेपालको डिभी (दाल भात) अति उत्तम हो”, भन्ने निष्कर्ष निकाल्दै यो प्रहसन सकिन्छ ।
कलाकार गजुरेलले अर्को प्रस्तुतिमा दाता सम्मेलनको व्यङ्ग्य गर्दै विधाता सम्मेलन गरेका छन् । विधाता सम्मेलनमा गजुरेलले प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी ओली, एनेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, कमल थापा, राजेन्द्र महतोको त बोली हुबहु उतारेका छन् ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ, अमेरिकी राष्ट्रपति बाराक ओबामा, चीनका राष्ट्रपति सी जिङ पिङ, श्रीलङ्काली तत्कालीन राष्ट्रपति महिन्दा राजपाक्षे, बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना, जापानका प्रधानमन्त्री र साउदी अरेवियाका शेखको भाषण पनि उनीहरुकै भाषामा प्रस्तुत गर्न पनि सफल भएका छन् । प्रहसनले ‘दाता हुन् या विधाता हरेकको स्वार्थ हुन्छ, त्यसैले आफ्नो काम नेपाली आफैँले गर्नुपर्छ’ भन्ने सन्देश दिन्छ ।
हाँस्य टेलीशृङ्खला ‘तितो सत्य’को प्रस्तुतिमा दीपकराज गिरी, दीपाश्री निरौला, सुरवीर पण्डित, किरण केसी, पूर्ण थापा, रवि डङ्गोल, केशव न्यौपाने आदि कलाकारले ‘धरहरा’ प्रहसनमार्फत देश सङ्घीयतामा गएपनि नेपालीको एकतामा फरक पर्नुहुन्न ‘प्रदेशभन्दा ठूलो देश हो’ भन्न खोजेको छ । प्रहसनमा सुरवीर पण्डितलाई धरहरा निर्माणकर्ता भीमसेन थापाका रुपमा प्रस्तुत गरिएको छ । सबै प्रदेशका जातजातिले थापालाई साथ दिएपछि भूकम्पले ढलेको धरहरा उठ्छ ।
‘जिरे खुर्सानी’ समूहको प्रहसन केही विदेशी संस्थाले पैसाको प्रलोभन देखाएर नेपालका सनातन धर्म सभ्यता, संस्कृतिमाथि प्रहार गरिरहेको विषयवस्तुलाई देखाइएको छ । शिवहरि बैरागी, रमेश अधिकारी, देवीराम पराजुली, नीरज नेपाल, राजाराम पौडेल आदि कलाकारको प्रस्तुति रहेको उक्त प्रहसनमा भूकम्पको समयमा घटेका विभिन्न घटनालाई पनि प्रस्तुत गरिएको छ ।
त्यस्तै, सोही समूहको अर्को प्रस्तुतिमा रहेको प्रहसन ‘पाल’मा भूकम्पले पहुँचवाला र सर्वसाधारणलाई समान हैसियतमा पु¥याएको व्यङ्ग्य गरिएको छ । शिवहरि पौडेल, किरण केसी, मनोज आचार्य, सविता गुरुङ, नीरज नेपाल, हिमा कोइराला आदिले प्रहसनमा ‘देश कित्ताकाट गर्ने पाल हैन, सबै नेपालीको नेपाल हो’ भन्ने सन्देशसमेत दिएका छन् ।्
‘मेरी बास्सै’ समूहको प्रहसनले डन प्रवृत्तिको विरोध गर्दै शान्तिको सन्देश दिन्छ । केदार घिमिरे, विल्सनविक्रम राई, सुनिता गौतम, सवनम राई, सन्देश लामिछाने आदिको प्रस्तुतिले राष्ट्रिय एकताको सन्देश दिने त छँदैछ ।गाईजात्रामा हास्य कवि शैलेन्द्र सिंखडाको ‘कृष्ण र अर्जुनको संवाद’ लगायतका बेजोड प्रस्तुतिले दर्शकलाई ‘वान्स मोर’ भन्न बाध्य गराउँछ भने टीका भण्डारी र यमन श्रेष्ठको ‘प्यारोडी’ गीतले दर्शकको मन जित्न सफल भएको छ ।

0 comments:

Post a Comment