काठमाडौं, पुस १० । वैकल्पिक नयाँ राजनीतिक शक्ति निर्माण गर्ने भन्दै एमाओवादी परित्याग गरेका डा. बाबुराम भट्टराई पछिल्लो दिनमा निराश बन्न थालेका छन् । नयाँ शक्तिको पक्षमा देशव्यापी माहोल आउने भन्दै सार्वजनिक मन्तव्य दिंदै हिंडेका उनलाई फेसबुक जस्ता सामाजिक सञ्जालमा समेत ताली भन्दा गाली बढ्ता आएको, जनताले नयाँ शक्तिलाई आत्मसात् नगरेको जस्ता कारणले उनी निराश भएका छन् ।
नयाँ शक्तिको नारा, लोगो, झण्डाको विज्ञापन गरेका डा. भट्टराईलाई कुनै पनि नेपाली नागरिकले सुझाव नदिएपछि अब कसरी अगाडि बढ्ने कुराको छेउ–टुप्पो समेत उनले पाउन सकेका छैनन् । नयाँ शक्ति नयाँ बोत्तलमा पुरानै रक्सी भएको भन्दै नागरिकले समेत नटेरेको, एमाओवादीभित्रका आफ्ना गुटका सदस्य मात्रै सहभागी भएको भन्दै धेरैले अटेर गरेको सानेपा स्रोतले जनाएको छ । नयाँ शक्तिको पक्षमा कुनै पनि माहोल नआएपछि डा. भट्टराईले पछिल्ला दिनमा भारतलाई समेत गाली गर्न थालेका छन् । मधेशी आन्दोलन र भारतको नाकाबन्दी फरक विषय रहेको भन्दै उनले भारतलाई गाली गरेका हुन् ।
भारतलाई गाली गरेरै भए पनि नयाँ शक्ति विस्तार गर्ने योजनामा उनी छन् । पछिल्लो दिनमा मकवानपुर, पोखरालगायतका स्थानमा गरिएका सार्वजनिक कार्यक्रममा उनले भारतलाई गाली गरेका थिए । फेसबुकमा लोगो र नाराका लागि विज्ञापन गर्दा कुनै पनि प्रत्युत्तर नआएपछि उनी नागरिक समाजका अगुवा भनिने र आफूलाई बुद्धिजीवी बताउनेहरूको मोर्चा बनाएर जाने निष्कर्षमा पुगेका छन् । आफूलाई साथ दिन्छु भनेर लागेका समेत एमाओवादीमा फर्केका छन् । एकाध जिल्लामा बाहेक अन्यत्र कोही पनि नेता तथा कार्यकर्ता समेत उनको पक्षमा खुलेका छैनन् ।
पछिल्ला दिनमा विवेकशील नेपाली नामक गैरसरकारी संस्था चलाएकाहरू समेत नयाँ शक्तिमा समाहित भएको भनेर डा। भट्टराईले सामाजिक सञ्जालमार्फत डंका पिटाए । तर सो समूहका सदस्यहरूले भने आफूहरू नयाँ शक्तिमा जानै नसक्ने र त्यस्तो सम्भावना नभएको सार्वजनिक गरेका छन् । यसबाट उनी थप हच्किएका छन् ।
फेसबुकमा पनि गाली मात्रै पाउने, आउँछु भनेका समेत नआउने भएपछि सानेपामा सन्नाटा छाएको बताइन्छ । यस्तै नयाँ शक्तिका संगठन विभाग प्रमुख भनिएका देवेन्द्र पौडेलले विभिन्न व्यापारिक तथा उद्योगीलाई फोन गरेर चन्दा दिन भनेका छन् । भोलि त हामी नै हौं नि सत्तामा आउने भन्दै पौडेलले धम्की दिने गरेको नेपाल उद्योग वाणिज्य महासंघका एक पदाधिकारीले बताए ।
आजको जनआह्वान साप्ताहिकमा खबर छापिएको छ ।









0 comments:
Post a Comment