Wednesday, 11 November 2015

सिरियामा आइएसको घेराबन्दीमा परेका सैनिक घेरा तोडेर मुक्त |


काठमाडौं, कार्तिक २५ । सिरियाको उत्तरी क्षेत्रमा इस्लामिक स्टेट आइएसको घेराबन्दीमा परेका एक सयभन्दा धेरै सरकारी सैनिक घेरा तोडेर मुक्त हुन सफल भएका छन् ।



एलेप्पो राज्यको क्वेरिस एयरबेसको सुरक्षाका लागि खटिएका सेना दुई वर्षदेखि आइएसको घेराबन्दीमा परेका थिए । आइएसको घेराबन्दीमा रहेका सरकारी सेना विद्रोहीको घेरा तोडेरभाग्न सफल भएको सिरियाको सरकारी समाचार संस्था सानाले जनाएको छ ।

मानवअधिकारवादी संस्था सिरियन अबजरभेटरी फर ह्युमनराइट्सले पनि घेराबन्दीमा परेका सेनाले आईएसका लडाकुको घेरा तोडेको र उनीहरुलाई बाहिरबाट सेनाको समूहले सघाएको जनाएको छ । राष्ट्रपति बसर अल असद समर्थित सेनालाई रुसले हवाई आक्रमणमार्फत गएको सेप्टेम्बरदेखि साथ दिन थालेपछि सरकारी सेनाको यो ठूलो सफलता मानिएको छ । यसैबीच एलेप्पोकै लाटकियामा विद्रोहीको आक्रमणमा २२ जना मारिएका छन् भने अरु धेरै घाइते भएका छन् । लाटकिया शहरको दुई भिन्दाभिन्दै ठाउँमा भएको विस्फोटमा घाइते भएकाको अवस्था गम्भीर रहेको मानवअधिकारवादी संस्था सिरियन अबजरभेटरी फर ह्युमनराइट्सले जनाएको छ ।

सिरियामा जारी द्वन्द्वको क्रममा अहिलेसम्म दुई लाख ५० हजारभन्दा धेरै मानिस मारिइसकेका छन् भने लाखौंलाख विस्थापित भएका छन् । (एजेन्सी)

0 comments:

Post a Comment